चैते हुरिको साथमा
मैले धुलोका कणहरु देखिरहेछु
धुलोहरुमा मैले
बारुदको स्वाद पाइरहेछु
हुरीमा मैले
जनसंग्रामको धुन सुनिरहेछु
हुरी बेजोड बगिरहेछ
बन्द झ्यालहरु तोड्दै
खटप्वालहरुबाट पनि छिरिरहेछ
समानताको पाठ सिकाउदै
युकान्तकारी परिवर्तन छेड्ने तयारीमा छ ।
पोहोर साल
तिम्रो खोरको बोकाको कविता लेख्दा
तिमी बारुद पड्काएर
हुरीलाई तसा्रउने दुस्प्रयास गरिरहदा
मेरो पाखुरामा टोकेर
मेरै रगतले फूलेको
तिम्रो खोरको झिँगालाई
प्याट्ट हानेर मार्दा
मलाई अपराधिको ताज
पहराइदिएका थियौ ।
त्यो ताज
केही वर्ष सिँगारेर राखे
भर्खर मात्र खबर पाए
त्यो ताज आज हस्तान्तरण हुदै छ
तिम्रो झिँगाहरु र हुरीबिच सम्झौता भयो रे
झिँगाहरु हुरीमाझ नाचिरहने रे
त्यसैले महाशय
आज वृहद सभा छ
तिमी त प्रमुख अतिथी भइसक्यौ
तर भोका झिँगाहरु
बोका नै खाने पक्षमा छन्
हुरीको हुकुम
आज बोका लानै पर्छ
आज बोका काट्नैपर्छ
नत्र ठूलो प्रलय हुन सक्छ
तिम्रो खोरका कण-कणमा
बारुदले मितेरी गाँस्न सक्छ
बारुद गनाउने पखेटा टक्टकाउदै
तिम्रो खोरका झिँगाहरु
तिम्रो बोकाको प्रतिक्षामा छन्
त्यसैले-
आज बोका लानैपर्छ
आज मैले तिनीहरुलाई
बोका खुवाउनैपर्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment