Monday, November 23, 2009

मेरो प्रतिज्ञा

मध्यदिनमा जब तिमी
निर्लज्ज सवालहरु गछ्र्यौ
म बिस्तारै
तिम्रा हत्केलाहरु सुम्सुमाउँछु
कारण :
तिमीले भुलिसकेको
मेरो वर्तमान
अन्धकारलाई चिरेर हिडेको
एउटा सानो आगोको झिल्को
आज राँको बनेर सल्कदैछ
मेरो प्रतिज्ञा
त्यहि राँकोमा म आज
आफ्ना कुपुत्रहरुलाई डढाउन चाहन्छु ।

उत्तरहिन प्रश्नका सवालहरुमा
तिमी जहिलेपनि
आफ्नै ईश्वरलाई जोड्छ्यौ
ईश्वर :
म मान्दिन तिनका
नौटङ्की चटकहरु
मैले कैयौ बुँद पसिनाका दानाहरु
तिनैको आकृतिमा चढाईसकेको छु
तापनि
म तिनैको भाषामा
अछुत भएर बाचिरहेको छु
मेरो प्रतिज्ञा
म तिम्रो ईश्वरका मुखहरुमा
आगोको मुस्लो कोच्नेछु
र हेरिरहनेछु
तिम्रो ईश्वर आफ्नालागी
के चाहि गर्दा रहेछन् ।

इतिहासको साक्षि भन्दै
तिमी समयलाई थम्याउछ्यौ
समय,
रगतको प्याला पिउन पल्केको समय
मेरो समिपमा बुख्याचा बनेर आउछ
र धमनीहरुमा पौडि खेल्दै
मस्तिष्कमा विष्फोट गराउछ
मेरो प्रतिज्ञा
यी हत्यारा समयहरुलाई
म सेतो परेवा बनेर ठूँगीरहनेछु
तिमी हेरिरहनु
निरन्तर...। निरन्तर...॥

2 comments:

  1. लामो समयको अन्तरालपछि जन्मिएको दृश्यको सशक्त रचना !

    ReplyDelete
  2. दृश्यले यस्तै शक्तिशाली कविता लेखिरहनपर्छ, निरन्तर… निरन्तर…

    ReplyDelete